काठमाडौं, ३ साउन । वीर अस्पतालका सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै प्रर्दशन गरेका छन । बिहिबार बिहानै अस्पताल पुगेका सेवाग्राहीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन ।
विरामी र विरामी कुरुवाहरुले विरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि विरामी र विरामीका कूरुवाहरुले सास्ती व्यहोर्नु परेको छ ।
नुवाकोटका दिनेश रानामगरले अस्पताल बन्द गरेर चिकित्सकहरुले आफूहरुलाई मारमा पारेको भन्दै आक्रोश व्यक्त गरेका छन । विरामी लिएर अस्पताल आएका उनले आज ओपीडी सेवा बन्द भएको आफूलाई जानकारी नभएको पनि बताए ।
खुट्टामा घाउ लिएर अस्पताल पुगेका काभ्रेका कुलबहादर रसायलीले डा. केसीको माग सही भएपनि विरामीको उपचार छाडेर आन्दोलनमा जाने काम जायज नभएको बताएका छन् ।
चिकित्सकहरुले अस्पतालको ओपीडीलगायतका अतिआवश्यक सेवा बन्द गरेपछि विरामी र उनका आफन्तहरुले जीवन रक्षाको लागि उचित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।