हेटाैडा र उदयपुर सिमेन्टको क्षमता बढ्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

हेटाैडा र उदयपुर सिमेन्टको क्षमता बढ्ने

cements

काठमाडौं, ३२ असार । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगको स्तरोन्नति गरिने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमन्ट उद्योगको क्षमता बढाउन लागेको हो।

आर्थिक वर्ष २०७५/७६ मा उदयपुर सिमेन्ट उद्योगको ५० प्रतिशत क्षमता बढाउन थालिएको हो। क्षमता बढाउदा एक लाख ३२ हजार टन क्लिंकर उत्पादन हुनेछ। त्यसपछि ६० प्रतिशत क्षमतामा उत्पादन लक्ष्यसहित आर्थिक तथा प्राविधिक रूपले सक्षम हुने उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले जानकारी दिइन्।

उदयपुरको क्षमता बढाउन चालु आवमा आवश्यक मेसिन खरिद भइसकेको छ। आगामी आवमा कम्तीमा ५० करोड रुपैयाँसम्मको पुँजीगत सामान किनिनेछ। उपकरणको प्राथमिकता पहिचान गरी मर्मत सम्भार तथा पुनस्र्थापनाको काम थालिने सचिव खतिवडाले बताइन्।

‘उत्पादन कार्यमा प्रयोग हुने जिप्सम, फलामे धाउ, पोली व्यागलगायत कच्चा पदार्थ एवं कोइला, फर्नेस आयल र डिजेललगायत इन्धन खरिद गरिनेछ’, उनले भनिन्, ‘तीन महिनाको उत्पादन बराबरको न्यूनतम मौज्दातको व्यवस्था गर्न प्रयत्न गरिनेछ।’

सात बिघा क्षेत्रफलमा फैलिएको यो उद्योग रुग्णको दर्जाबाट माथि उक्सिसकेको छ। दैनिक १४ देखि १५ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि दुई÷तीन वर्षअघिसम्म यसको आधा पनि उत्पादन गर्ने अवस्था उद्योगको थिएन। अहिले दैनिक करिब १२ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ। विगत १० वर्षमा यो उत्पादन सबैभन्दा बढी हो। उत्पादित सिमेन्ट तत्कालै बजारमा जाने गरेको छ।

हेटौंडा सिमेन्ट उद्योगको मुख्य प्लान्ट स्तरोन्नति गरी दैनिक दुई हजार टन क्षमता पुर्‍याउने योजना अघि सारिएको छ। दुई वर्षभित्र यो काम सम्पन्न गर्ने सरकारको योजना छ। हाल उद्योगले दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गरिरहेको छ। यो उद्योगको स्तरोन्नतिका लागि सरकारले एक अर्ब २० करोड खर्च गर्नेछ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);