काठमाडौं, २९ असार । जापान सरकारले नेपालको मानव संशाधन विकासका लागि २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा शुक्रबार एक कार्यक्रमकाबीच अनुदान सहायता सम्बन्धी समझदारी पत्रमा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साईगोले हस्ताक्षर गरे ।
यो अनुदान सहयोग सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यका साथ जापानका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन उपयोग हुने छ ।
विगत तीन बर्ष देखि जापानले यस किसिमको छात्रवृत्ति प्रदान गर्दै आएको छ । सन् २०१६ र १७ मा ४० जना सरकारी कर्मचारी जापानका विभिन्न ८ वटा नाम चलेका विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएका छन् भने २०१८ का लागि पनि २० जनाको चयन भईसकेको छ ।
मानव संसाधनका लागि जापानले गरेको यो सहयोगबाट अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास र कानूनी नीति जस्ता विषयमा निजामति सेवाका कर्मचारीले छात्रवृत्ति पाउँदै आएका छन् ।