काठमाडौं, २८ असार । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुनेगरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने विश्वास व्यक्त गरेका छन् ।
नेता बडुले सरकारले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन हुनेगरी सो सम्बन्धि विधेयक ल्याउने आशा गरेका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकको कार्यसूचिबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ हटाइएको थियो ।
नेता बडुले कार्यसूचि हटाउने सो निर्णयलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको स्पष्ट पारे । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीमाझ उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारमा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
काँग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन हुने गरी तत्काल राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको थियो ।