काठमाडौं, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको नियमावलीलाई अन्तिम रुप दिन छलफलमा जुटेको छ ।
नियमावलीलाई अन्तिम रुप दिन नेकपाको सचिवालयको बैठक प्रधानमन्त्री निवासमा बसिरहेको छ । केहीबेरअघि सुरु भएको बैठकमा पार्टी महासचिव विष्णु पौडेलले स्थायी समितिका सदस्यहरुले दिएका सुझावलाई समेटर नियमावलीको मस्यौदा पेश गरेका छन् । सचिवालयको असार २३ गते बसेको बैठकले सुझाव समेटेर अन्तिम मस्यौदा तयार पार्ने जिम्मेवारी महासचिव पौडेल तथा नेताद्वय वामदेव गौतम र रामबहादुर थापा सम्मिलित कार्यदललाई दिएको थियो ।
कार्यदलले पेश गरेको मस्यौदामाथि नेताहरुले आ आफ्नो धारणा राखिरहेको बताइएको छ । आजको बैठकले नियमावलीलाई अन्तिम रुप दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नियमावलीको टुंगो नलाग्दा नेकपाका मातहतका कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भइ नेकपा गठन भएको थियो ।