एजेन्सी, २४ असार । उत्तर कोरियाले परमाणु निःशस्त्रीकरणका लागि अमेरिकाले अनावश्यक दबाब दिएको आरोप लगाएको छ । केही समययता अमेरिकासँगको सम्बन्ध सुध्रिएकामा उत्तर कोरियाले अमेरिकामाथि परमाणु निःशस्त्रीकरणका लागि अनावश्यक दबाब दिएको आरोप लगाएको हो ।
उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसीएनले सरकारका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकाको पछिल्लो कार्यशैलीले अवस्था थप बिग्रिएको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो परमाणु निःशस्त्रीकरणका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ हाल उत्तर कोरियाको भ्रमणमा छन् । अमेरिकाले परमाणु निःशस्त्रीकरणका लागि एकोहोरो दबाव दिइरहेको र यसले समस्या सुल्झ्याउने भन्दा पनि बल्झाउने काम गरेको केसीएनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उत्तर कोरियाले अमेरिकी रवैयाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेको बताइएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच गत जुन १२ मा परमाणु निःशस्त्रीकरण गर्ने सहमति भएको थियो । सहमति कार्यान्वयनका लागि दुई देशबीच केही समयदेखि संवाद भइरहेको छ । उत्तर कोरियाले अमेरिकाको पछिल्लो रवैया किम–ट्रम्प वार्ताको भावना विपरीत भएको बताएको छ ।