काठमाडौं, २३ असार । वरिष्ठ चिकित्सक गोविन्द केसीका समर्थकहरुले शनिबार काठमाडौंमा प्रर्दशन गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।
आमरण अनसनरत वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन नगरेको, नागरिकको बोल्न पाउने संवैधानिक हकलाई निषेध हुनेगरी काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको लगायतका माग उल्लेख गर्दै समर्थकहरुले शनिबार काठमाडौंको माईतीघर मण्डलामा सरकार विरोधि प्रर्दशन गरेका छन् ।
माफियाको पक्षमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गराउनेलगायतका जनविरोधि काम गरेपछि सरकार विरुद्ध सडक संघर्ष गर्नु परेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।
उनले सरकारले काठमाडौंमा मात्रै मेडिकल कलेज स्थापना गर्ने खालको विधेयक संसदमा दर्ता गराएर काठमाडौं बाहिरका नागरिकहरुमाथि विभेद गरेको भन्दै आक्रोश व्यक्त गरे ।
प्रर्दशनमा सहभागी भएकाहरुले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन नभए सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।




