काठमाडौं, २० असार । भारतले नेपालको ताजा अदुवा निकासीमा लगाउँदै आएको अवरोध हटाएको छ । भारतीय उद्योग तथा वाणिज्य मन्त्रालयले विदेश व्यापार नीति संशोधन गर्दै नेपालको ताजा अदुवामा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको हो । यससँगै अब नेपाली ताजा अदुवाले भारतमा सहज पहुँच पाउने भएको छ ।
भारतीय वाणिज्य विभागले नेपाललाई पत्र नै पठाएर ताजा अदुवामा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको जानकारी गराएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैंजूले बताए । ‘भारतले सोमबारदेखि नै लागू हुने गरी ताजा अदुवा निकासीको प्रतिबन्ध फुकुवा गराएको हो,’ उनले भने, ‘यससँगै अब नेपाली अदुवा भारतमा सहजै निकासी हुनेछ ।’
नेपाल सरकारले अदुवालाई नेपालको निर्यातयोग्य वस्तुको मुख्य सूचीमा राखेको छ । तर, भारत निकासीमा भने बारम्बार समस्या आउने गरेको छ । पछिल्ला पाँच वर्षयता भारतले नेपालको अदुवा निकासीमा दर्जनौँपटक अवरोध सिर्जना गरेको छ ।
पछिल्लोपटक गत कात्तिकमा भारतले नेपालको अदुवा निकासीमा अवरोध गरेको थियो । अदुवा लोड गरेर पूर्वी नाका काँकडभिट्टा पुगेका १ सय ५० वटा ट्रकलाई १० दिन भारत प्रवेश गर्न दिएको थिएन । तर, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सुरु हुने दिन १७ माघदेखि अदुवा निकासी खुलाइएको थियो । स्वराजको भ्रमण सकिएपछि पुनः भारतले अदुवा निकासीमा अवरोध गरेको थियो ।
नेपाल सरकारले बारम्बार आग्रह गरेपछि भारतले अदुवा निकासीमा देखिएको समस्याको दीर्घकालीन समाधान निकालेको उनले बताए । ‘अब अदुवा निकासीका लागि कुनै आइडी नम्बर लिनुपर्ने छैन,’ उनले भने, ‘नेपाली व्यवसायीले पारदर्शी र संयमित भएर अदुवा निकासी गरेमा अवरोध आउनेछैन ।’
तर, अझै आउन सक्छ निकासीमा अवरोध
भारतले नेपालको अदुवा स्तरीय नभएको तथा चिनियाँ अदुवा मिसावट गरिएको भन्दै अवरोध गर्दै आएको थियो । भारतले वेला वेला ‘ल्याबटेस्ट’ गर्दा नेपालको अदुवामा कैफियत देखिएको भन्दै निकासी रोक्दै आएको छ । खासगरी भारतले आफू अदुवामा आत्मनिर्भर भएकोले अन्य देशबाट हुने निकासीलाई निरुत्साहित गर्दै आएको हो । नेपालतर्फको अदुवा प्रशोधन नभई जाने भएकाले भारतले यस्ता अवरोध नगर्ला भन्न नसकिने एक निकासीकर्ताले बताए ।
‘भारतले वेला वेला विभिन्न बहाना पार्दै अदुवा निकासी रोक्छ र पुनः खोल्छ,’ ती निर्यातकर्ताले भने, ‘अहिले ताजा अदुवाको प्रतिबन्ध फुकुवा गरेको त छ, तर फेरि अन्य बहाना बनाएर निकासी नरोक्ला भन्न सकिन्नँ ।’ त्यसैले, अदुवाको उत्पादन, गुणस्तर कायम, सरसफाइलगायत विषयमा सरकार र निर्यातकर्तासमेत सचेत भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । सहसचिव रवि सैँजूले अदुवामा भ्यालुएड (मूल्य अभिवृद्धि) गरी निकासी गर्न सके कुनै खाले अवरोध सिर्जना हुन नसक्ने बताए । ‘भ्यालुएड गर्दै अदुवाको प्रशोधन एवं प्याकेजिङ गरेर निकासी गरेमा कुनै समस्या आउँदैन,’ उनले भने ।
बढ्न सकेन निर्यात
‘नेपाल एकीकृत व्यापार रणनीतिक (एनटिआइएस)मा सूचीकृत अदुवाको निकासीमा भइरहेको अवरोधले निर्यातसमेत बढ्न सकेको छैन । पछिल्ला पाँच वर्षयता अदुवाको निकासीमा उतारचढाव आइरहेको देखिन्छ । आव ०७०/७१मा ४४ करोड ९९ लाख रुपैयाँबराबरको अदुवा निकासी भएको थियो । आव ०७३/७४मा आइपुग्दा निकासी घटेर २४ करोड ३३ लाख रुपैयाँमा ओर्लिएको थियो । चालू आवको १० महिनामा भने अदुवा निकासी १ सय ७१ प्रतिशतले बढेर ५९ करोड १४ लाख रुपैयाँ पुगेको छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।




