दार्चुला, १८ असार । अविरल बर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेपछि बाढीको जोखिम बढेको छ । नदीमा पानीको बहाव बढेसँगै दार्चुला सदरमुकाम खलंगा लगायतका क्षेत्रमा बाढीको जोखिम बढेपछि स्थानीय त्रसित भएका छन्।
भारतको धार्चुलातर्फको खोलामा पहिरो झरेकाले महाकाली नदीमा पानीको बहाव बढेको हो । भारतको खोतिला भिरमा पहिरो झर्ने क्रम नरोकिएकाले महाकाली नदी थुनिन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा सतर्कता बढाइएको दार्चुला प्रहरीले जनाएको छ ।
महाकाली नदीमा निर्माणाधीन तटबन्धमा समेत क्षति पुगेको छ । तटबन्ध निर्माण कार्य सम्पन्न नहुँदा दार्चुला सदरमुकाम खलंगा बाढिको उच्च जोखिममा छ । बाढी पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन स्थानीयलाई प्रशासनले अपिल गरेको छ ।