काठमाडौं, १७ असार । छोराको हत्यारालाई कार्बाही गर्न मागसहित १४ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६२ वर्षीया गंगामाया अधिकारीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
गंगामायाको उपचार वीर अस्पतालको आईसीयू कक्षमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न विभिन्न दलका नेता तथा मानवअधिकारकर्मीहरु वीर अस्पताल पुगेका छन् ।
१४ वर्षदेखि न्यायका लागि लडिरहेकी गंगामायाले ३४ दिन अघि पुनः अनसन थालेकी थिईन । न्यायका लागि लड्दा–लड्दै श्रीमान नन्दप्रसादको निधन भइसकेको छ । गंगामायाको पनि स्वास्थ्य अवस्था नाजुक बनेको वीर अस्पतालले जनाएको छ ।
अनसनरत गंगामायाको जीवन रक्षाका लागि संवेदनशील हुन सरकारलाई विभिन्न संस्था, मानवअधिकारकर्मी र राजनीतिज्ञहरुले आग्रह गरेका छन् । गंगामायाको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेका राजनीतिक एवं अधिकारकर्मीहरुले गंगामायाको जीवनरक्षाका लागि आग्रह गरेका हुन् ।
गंगामायाको १७ वर्षिय छोरा कृष्णप्रसादको विक्रम सम्बत २०६१ जेठ २४ अपहरणपछि हत्या भएको थियो । सर्वोच्च अदालतले २०७२ साल पौस ६ गते निर्णय गरी गंगामायाको छोराको हत्यामा संलग्न दुईजनालाई पुर्पक्षमा थुनामा राख्नको लागि निर्णय गर्यो । तर, कार्बाही नभएपछि गंगामायाले अनसन थालेकी हुन् । आफ्नो छोराको हत्यारालाई कार्बाही नभएसम्म आफ्नो सघंर्ष जारी राख्ने गंगामायाको अडान छ ।




