सिन्धुपाल्चोक, १६ असार । भूकम्पमा परि सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका अधिकांश विद्यालयका भवनहरु अझै उस्तै अवस्थामा छन् । केही विद्यालय भवन भने दातृ निकायको सहयोग र स्थानीयको सक्रियतामा निर्माण भएका छन् । भूकम्पपछिको पुनःनिर्माणसँगै सुकेटे माध्यमिक विद्यालयले विद्यालयको संरचना नै परिवर्तन गरेको छ ।
सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्ने तयारी गरिरहेका बेला सिन्धुपाल्चोकस्थीत सुकुटे माध्यमिक विद्यालयले ग्रामिण भेगको शिक्षालाई प्रतिस्पर्धी बनाउन आफूलाई परिस्कृत गरेको छ ।
भूकम्पको क्षति पछि तंग्रिएको यो विद्यालय आधारभूत तहबाट मावि तहमा उक्लिएको छ । योसँगै विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन सुरु भएको छ । संचारको युगमा ग्रामिण तथा विपन्न वर्गका विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्न सुरु गरिएको छ ।
सिन्धुपाल्चोकमा लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको नेपाल हिल्फे बाइलेन ग्रिसले उक्त विद्यालयमा सोलारदेखि विद्यालयका अन्य सुधारमा योगदान पुर्याउँदै आएको छ ।
जिल्लामा अझै सयौँ विद्यालयहरु टहरामै सीमित छन् । गर्मीको समयमा टहराको अध्ययन विद्यार्थीका लागि समेत कठिन छ । विद्यालय भवनहरुको पुनःनिर्माण सक्न आफूहरु सक्रिय रहेको जनप्रतिनिधिहरुको दाबी छ ।