काठमाडौं, १५ असार । सरकारले माथिल्लो त्रिशुली तेस्रो बी जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले ३७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । बैठकले भूकम्पबाट क्षतिग्रस्त सडकहरुको स्तरोन्नतिका लागि पनि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले खाद्यान्न ढुवानीका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप ७ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी विधेयक तथा सशस्त्र प्रहरी बल नेपाल सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको छ ।




