नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी विमान किन्यो | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी विमान किन्यो

nepal airlines

काठमाडौं, १४ असार । नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी विमान किनेको छ । निगमले आठ वर्ष लामो प्रयासपछि फ्रान्सेली कम्पनी एयरबसको २ सय ७४ सिटे वाइड बडी विमान किनेको हो । वाइड बडी विमान भित्र्याएसँगै निगमलाई आफ्नो बजार हिस्सा बढाउने बाटो खुलेको छ ।

नेपाली हवाइ उडान उद्योगमा नेपाल वायु सेवा निगमको बजार हिस्सा १० प्रतिशतभन्दा तल छ । नेपालमा २६ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएकामा निगमले पछिल्ला वर्ष वार्षिक करिब ४ लाख यात्रुलाई सेवा दिंदै आएको छ ।

निगमले बजार हिस्सा कम हुनुमा ठूला जहाजको अभावलाई प्रमुख कारण देखाउँदै आएको थियो । तर निगमलाई अब जहाज नभएको देखाएर पन्छिने बाटो बन्द भएको छ ।

अर्थात निगमले पहिलोपटक वाइडबडीको विमान पाएको छ । निगमले करिब ११ अर्ब रुपैयाँमा अमेरिकी कम्पनी एएआरसँग फ्रान्सेली कम्पनी एयरबसको वाइड बडी विमान किनेको हो ।

२ सय ७४ सिटे विमान विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ सिट छन् । ए ३३०–२०० सिरिजको नयाँ विमानको नाम अन्नपूर्ण राखिएको छ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा मन्त्रालय र निगमका कर्मचारीले एयरबसका पाइलटले उडाएर ल्याएको विमानलाई स्वागत गरेका छन् । वाइड बडीको नयाँ विमान आएसँगै निगमलाई आफ्नो व्यापार विस्तार गर्ने बाटो खुलेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए ।

वाइड बडीको विमान आएकामा प्रबन्ध निर्देशक कंसाकार निकै प्रसन्न देखिएका छन् । कंसाकार तिनै व्यक्ति छन जसले ८ वर्ष पहिले निगमको अध्यक्ष हुँदा विमान खरिद्को प्रक्रिया सुरु गरेका थिए ।

तर त्यतिखेर बैना रकम पठाउँदा भ्रष्टाचार भएको आरोप लगाइ विमान खरिद् प्रक्रिया स्थगित गराइएको थियो । विमान खरिद् प्रक्रिया स्थगित भएसँगै निगमको अध्यक्षबाट बाहिरिएका कंसाकार निगममा प्रबन्ध निर्देशकको जिम्मेवारीसहित प्रवेश गरे ।

नयाँ जिम्मेवारी पाएको करिब तीन वर्षमा कंसाकारले निगममा आफ्नो पुरानो इच्छा पूरा गरेका छन् । निगमले अन्तर्राष्ट्रिय उडानका लागि एएआरसँग वाइड बडीको अर्को विमान पनि किन्दै छ । अर्को विमान डेढ महिनापछि काठमाडौं आइपुग्ने निगमले जनाएको छ ।

निगमका प्रबन्ध निर्देशक कंसाकारले वाइड बडीका विमान यात्रुहरुको चाप हुने दुबई, हङकङ, दोहा, क्वालालाम्पुर लगायत पुराना गन्तव्यका अलावा जापान र कोरियामा पनि उडाउने बताए । निगमले सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएर वाइडबडी विमान खरिद गरेको हो । निगमलाई अब आफ्नो व्यवस्थापन चुस्त बनाइ मुनाफा आर्जन गरेर देखाउने चुनौति थपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);