काठमाडौं १३ असार । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले सरकारले उच्च प्राथमिकतामा राखेर प्रदेश नम्बर २ मा ७ अर्ब बढी बजेट विनियोजन गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सहरी विकास मन्त्रालयमा विनियोजन गरिएको बजेटमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले प्रदेश नम्बर २ लाई उच्च प्राथमिकतामा राखेर २३ प्रतिशत बजेट विनियोजन गरिएको बताए ।
प्रदेश नम्बर २ का सांसदहरुले सो क्षेत्रमा बजेट र योजना तर्जुमा गर्दा सरकारले उपेक्षा गरेको र कम प्राथमिकता दिएको टिप्पणी गरेका थिए ।
सिरहा जिल्लामा सहरी विकास मन्त्रालयको एउटा पनि योजना नपरेको भन्दै त्यस जिल्लाका सांसदले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । मन्त्री राईले पर्सा जिल्ला हुलाकी सडकको मुआब्जा वितरण भौतिक पुर्वाधार मन्त्रालयले गर्ने स्पष्ट पारे ।