काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेका सदनलाई जानकारी गराएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणको उद्धेश्य पुरा भएको दाबी गरे । चिनियाँ चिनियाँ नेतृत्वसँग भएका सहमति र सम्झौताले सम्बृद्ध नेपाल र सुखी नेपालीको चाहाना पुरा हुने आधार तयार भएको भन्दै उनले सम्बृद्ध नेपाल निर्माण अभियानमा सहयोग गर्ने प्रतिवद्धता चिनियाँ पक्षबाट आएको जानकारी दिए ।
उनले चीन भ्रमणका क्रममा रेल मार्ग, सडक सञ्जाल, ऊर्जा, जलस्रोत, सञ्चार क्षेत्रमा महत्वपूर्ण सहमति भएको बताए । प्रधानमन्त्री ओलीले भारत र चीन दुबै छिमेकीसँग विश्वासको सम्बन्ध बनाउँदै विकासको गतिमा अघि बढ्ने सरकारको उद्धेश्य भएको बताए । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले ट्रान्जिट प्रोटोकलमा हस्ताक्षर किन हुन सकेन र लिपुलेकबारे के छलफल भयो भनी गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले जुलाइमा प्रोटोकल तयार हुने र कुनै पनि नाममा सीमाको लेनदेन नहुने जवाफ दिए ।
उनले नेपालको पुर्वाधार विकासमा सहयोग उपलब्ध गराउने विषयमा पनि चिनियाँ नेतृत्व सँग सकारात्मक कुराकानी भएको भन्दै दुवै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न स्थल यातायातका पुर्वाधार सुदृढ गर्न तथा उत्तर दक्षिण जोड्ने यातायात सञ्जाललाई थप सुदृढ बनाउने विषयमा सहमत भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले तातोपानी खासा नाका सन् २०१९ को मे महिनासम्ममा संञ्चालन गर्ने र रसुवागढी केरुङ नाकालाई व्यवस्थ्यि सञ्चालन गर्न आवश्यक पुर्वाधार निर्माण तथा मर्मत गर्न दुवै पक्ष सहमत भएको जानकारी गराए ।




