नागरिकता समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

नागरिकता समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

pm kp oli

काठमाडौं, ९ असार । वर्षौंदेखि नागरिकता र पासपोर्ट पाउन नसकेका तिब्बेतियन नेपालीले यस्तो समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

नेपाली मूलका पुरुष र तिब्बेतियन महिलाबाट जन्मिएका सन्ततीले वषौदेखि नेपाली पहिचान पाउन सकेका छैनन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली शुक्रवार तिब्बतको ल्हासा पुग्दा त्यहाँका नेपालीले यस्तो समस्या समाधान गर्न आग्रह गरेका हुन् । नागरिकता अभावमा त्यहाँका नेपालीले न चिनियाँ राहदानी लिन पाएका छन् न त नेपाली नै ।

शुक्रबार त्यहाँका नेपालीहरुको गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले समाधानका लागि तिब्बत सरकारसँग पहल गर्ने बताएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । व्यापार व्यवसायका सिलसिलामा ल्हासा र आसपासको क्षेत्रमा पुगेका नेपालीले उतै घरजम गर्न थालेपछि जन्मिएका सन्तती नागरिकताविहीन बनेका हुन् । ल्हासास्थित नेपाली वाणिज्य दूतावासले ४ वर्षे अवधि तोकेर त्यस्ता नागरिकलाई हस्तलिखित राहदानी उपलब्ध गराउने गरेको छ ।

तर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नहुँदा तिब्बेतियन नेपाली तिब्बत–नेपाल र नेपाल–तिब्बत बाहेक अन्यत्र ओहोरदोहोर गर्न पाउँदैनन् । आधिकारिक रुपमा नेपाली बन्न चाहने तिब्बेतियनहरुको संख्या २ सयका हाराहारीमा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चिनियाँ नागरिक बन्ने र उतैको नागरिकता लिनेहरु धेरै भएकाले नागरिकताविहीन नेपालीहरुको संख्या २ सयभन्दा बढी नरहेको बताइएको छ । हरेक पटकको उच्चस्तरीय भ्रमणका क्रममा यो विषय दोहोरिने गरे पनि स्थायी समाधान भने हुन सकेको छैन ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);