एजेन्सी , ९ असार । काठमाडौं एयरपोर्टबाट असार ५ गते हिमालयन एयरलाइन्सको विशेष फ्लाइट चढ्दै गर्दा केही मलिन देखिएका प्रधानमन्त्री केपी ओली झन्डै साढे ५ घण्टाको उडानपछि बेइजिङ उत्रिँदा ‘देदीप्यमान’ भइसकेका देखिन्थे । विमानस्थलमा बिछ्याइएको रातो कार्पेट टेक्दा खुलेका उनी तीन दिनको उच्चस्तरीय भेटवार्तापछि थप उत्साही देखिए ।
नेपाल र चीनबीच विभिन्न १० वटा विषयमा सम्झौता र चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ हुँदै गर्दा चिनियाँ प्रधानमन्त्री ली खछियाङसँग उनले जुन हाउभाउ र भावभंगीमामा कुराकानी गरे, त्यसबाट उनको उत्साह लुक्दैनथ्यो । चिनियाँ प्रधानमन्त्री मन्द मुस्कानसहित कम बोलिरहेका र ओलीले धेरै संवाद गरिरहेको देखिँदा कतै ओली ‘ओभर एक्साइटेड’ त छैनन् भन्ने लाग्थ्यो । यद्यपि ओलीको तीनदिने बेइजिङ बसाई काठमाडौंमा चर्चा भएजस्तो ‘कम प्राथामिकता’को देखिएन । चीनले नेपालसँगको सम्बन्ध, सहकार्य र चासोलाई उच्च प्राथामिकतामै राखेको देखियो ।
चीनको नेपाल चासो प्राथमिकतामा परे पनि सन् २०१६ का सहमतिहरू यसबीच कार्यान्वयनमा बढ्न नसक्दा चीन चिढिएको थियो । भारतवेष्ठित नेपालका लागि ओलीले गरेका ती समझदारी दक्षिण छिमेकसँगको निर्भरता घटाउन र नेपालको व्यापार विविधीकरण सिर्जना गर्न महत्वपूर्ण बिन्दु थियो । अन्तर्राष्ट्रिय पारवहन, व्यापार र इन्धनमा भारतमाथि रहेको नेपालको निर्भरता उक्त समझदारीको कार्यान्वयनसँगै अन्त्य हुने आम अपेक्षा थियो । त्यसमाथि बढ्दो चिनियाँ लगानीले राष्ट्रिय उत्पादन क्षमता बढ्छ र मुलुक समृद्धि र विकासको बाटोमा बढ्छ भन्ने आशा धेरैले लिए । तर सहमति गरेको दुई वर्ष बितिसक्दा पनि त्यसको कार्यान्वयनमा खासै प्रगति नभएपछि चिनियाँ पक्ष असन्तुष्ट थियो ।
कार्यान्वयन नहुनुमा केही कारण जिम्मेवार थिए । एक, दसबुँदे सहमतिपछिको केही समयभित्रै सरकार परिवर्तन भयो । ओली सरकारबाट बाहिरिए र सहमति अलपत्रमा पर्यो । दुई, नेपालको राष्ट्रिय प्राथामिकतामा संविधानको कार्यान्वयन मुख्य मुद्दा थियो । पूरै देश तीन तहको निर्वाचन र त्यसपछि सरकार गठन प्रक्रियामा बढ्यो । जसले गर्दा चीनसँगको सहमति तत्कालीन प्राथामिकतामा परेन । तेस्रो, नाकाबन्दी गरेको भारतलाई देशभित्र र अन्तर्राष्ट्रिय जगत्बाट पनि दबाब हुन थालेपछि नाकाबन्दी हट्यो । अभावग्रस्त र संकटको जुन अवस्था थियो, त्यो सामान्यीकरण हुँदै जाँदा चीनसँगका सहमति स्वाभाविक रूपमा पछि परे ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।