काठमाडौं, ५ असार । राष्ट्रिय जनता पार्टी नेपालले तत्काल सरकारमा सहभागि नहुने निर्णय गरेको छ । मंगलबार बसेको राजपाको राजनीतिक समितिको बैठकले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने निर्णय गरेको हो ।
बैठकले संविधान संशोधनको विषयलाई भने पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश–२ सरकारलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने निर्णय गरेको छ ।
सोमबारबाट बैठक पार्टीको विधान निर्माणमा केन्द्रित छ । आन्तरिक लोकतन्त्रसहित मजदुत संगठन निर्माण गर्नेगरी पार्टीको विधान निर्माणको काममा बैठक केन्द्रित भएको नेता वृशेषचन्द्र लालले जानकारी दिए ।
बैठकमा पार्टी संसदीय दलको नेता चयनको विषयलाई पनि प्रवेश गराइएको छ । बैठकमा नेताहरुले युवाहरुलाई विशेष प्राथमिकता दिने गरी पार्टीको विधान बनाउनुपर्नेमा जोड दिएको नेताहरुले बताएका छन् ।