काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणका काममा लापर्वाही गर्ने ठेकेदारलाई सरकारले एक एक गरेर कारबाही गर्नुपर्ने बताएका छन् ।
नेकपाका अध्यक्ष प्रचण्डले आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्ना घरबेटीलाई पनि कार्बाहीको दायरामा ल्याउनुपर्ने बताए । प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक हुन् र शैलुङ कन्स्ट्रक्सनले एक दर्जनभन्दा बढी सडक निर्माण नगरी अलपत्र छाडेको छ ।
प्रचण्डले जुनसुकै ठेकेदार कम्पनीले सम्झौता अनुसार समयमा नै काम गर्नुपर्ने र नेतासँग सम्बन्ध भएका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए । घरबेटी अधिकारीलाई कार्बाही नगर्नका लागि गृहमन्त्री रामबहादुर थापालाई बोलाएर निर्देशन दिएको प्रचारमा सत्यता नरहेको उनको दाबी छ ।




