ट्रमा सेन्टरको अप्रेसन कक्ष बन्यो स्टोर रुम | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

ट्रमा सेन्टरको अप्रेसन कक्ष बन्यो स्टोर रुम

truma center

काठमाडौं, २७ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरको अप्रेसन थिएटर स्टोर रुममा परिणत भएको छ । इमर्जेन्सीसमेत गरी ६ वटा अप्रेसन थिएटर रहेको ट्रमा सेन्टरमा हाल पाँचवटा मात्रै सञ्चालनमा छन् । करोडौँ रुपैयाँ मूल्य पर्ने उपकरण जडान भएको अत्याधुनिक मोडुलर अप्रेसन थिएटर दुई वर्षदेखि स्टोर रुममा परिणत भएको हो ।

अस्पतालका निर्देशक डा. प्रमोद उपाध्यायले दुई वर्षदेखि सेवा अवरुद्ध भएको स्वीकार गरे । ‘अत्याधुनिक अप्रेसन थिएटर दुई वर्षदेखि बन्द भएको छ,’ उनले भने, ‘हामी निरन्तर सञ्चालन गर्ने पक्षमा लागिरहेका छौँ । मर्मतका लागि आवश्यक उपकरण भारतबाट आउनुपर्ने भएकाले केही ढिला भएको हो ।’

भएको अप्रेसन थिएटर सञ्चालन गर्नुको अलावा बन्द गरेर दैनिक ठूलो संख्यामा बिरामी निजी अस्पतालमा जान बाध्य बनाएको भन्दै चिकित्सकले आपत्ति जनाएका छन् । ‘अत्याधुनिक मोडुलर अप्रेसन थिएटर भए पनि सञ्चालनमा आउन सकेन, जसका कारण सेवाका नाममा निजी अस्पतालमा गएर महँगो शुल्क तिर्न बिरामी बाध्य छन्,’ ट्रमा सेन्टरका एक वरिष्ठ चिकित्सकले भने ।

डाक्टर खोल भन्ने, प्रशासन स्टोर रुम बनाउने
दुई वर्ष सेवा अवरुद्ध हुँदा सयौँ बिरामी निजी अस्पताल जान थालेपछि ट्रमा सेन्टरमा असन्तुष्टि उत्पन्न भएको छ । ‘राष्ट्रिय ट्रमा सेन्टरको बन्द रहेको अप्रेसन थिएटर खुलाउन हामीले पटकपटक आग्रह गरेका हौँ । तर, प्रशासन खुलाउने पक्षमा देखिएको छैन,’ नाम नखुलाउने सर्तमा ती कर्मचारीले भने ।

ट्रमा सेन्टरमा हाल दैनिक १५ जनाको जटिल अप्रेसन हुने गरेको छ । महँगो इन्ट्राअप्रेटिभ सिटिस्क्यान सोही स्टोर रुममा थन्किएको छ । अत्याधुनिक क्षमताको उक्त अप्रेसन थिएटर सञ्चालनमा ल्याएमा चिकित्सक र बिरामीलाई ठूलो राहत हुने एक चिकित्सकको भनाइ छ ।

मर्मत गर्नुपर्ने भयो उपाध्याय
ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले बिग्रेको अप्रेसन थिएटर चाँडै मर्मत गर्ने बताए । ‘बन्द भएको थिएटरमा अत्याधुनिक उपकरण जडान गरिएको छ । सुरुका ६ महिना सञ्चालनमा ल्याएका थियौँ । त्यसलाई समय–समयमा मर्मत गर्नुपर्ने हुन्छ । भारत सरकारले सहयोग गरेको उपकरण भएकाले उसैले आएर बनाइदिन्छ,’ उपाध्यायले भने ।

मर्मतका उपकरण ल्याउनुपर्ने भएकाले केही दिनमै सञ्चालन हुने उनको भनाइ छ । ‘बुधबार बिहान मात्रै भारतीय कम्पनीसमक्ष कुरा भएकाले उनीहरूले दुई साताभित्र बनाइसक्ने आश्वासन दिएका छन्,’ उपाध्यायले भने । उनले अप्रेसन थिएटर बन्द गरेर राख्ने आफ्नो उद्देश्य नभएको स्पष्ट पारे । अप्रेसन थिएटरको अभावका कारण ट्रमा सेन्टरमा उपचार गराउन आउने बिरामी एक महिनाभन्दा बढी समय पालो कुरेर बस्न बाध्य छन् ।

सामान्य अप्रेसनको समय पटक–पटक सारिन्छ
मृतक जयकला घर्तीको मृत्युलगत्तै मन्त्रालयबाट गएको अनुगमन टोलीले अप्रेसनको समय पटकपटक सार्दै जाने र अन्य बिरामीसमेत भर्नामा रोक लगाएको देखाएको छ । ‘२० मिनेटमा अप्रेसन सक्ने बिरामीलाई पनि अप्रेसन नगरी बेडमा भर्ना गराएर मात्रै राखिएको पाइयो । यसले गर्दा इमर्जेन्सी बिरामीलाई भर्ना गराउने बेडको अभाव देखिएको छ,’ उपसचिव खतिवडाले भने ।

किन गर्छन् बिरामी आत्महत्या
‘पहिलोपटकको १८ चैतमा अप्रेसनको अन्तिम नम्बर १३ नम्बर मा राखेका बिरामीले सो दिन निजको अप्रेसन हुन सकेन । त्यसपछि उसलाई सोही युनिटबाट २२ चैतका लागि अप्रेसनको मिति तोकिन्छ र पुनः अन्तिममा १० नम्बरमा राखिन्छ । तर, सो दिन पनि बिरामीको अप्रेसन हुँदैन,’ उपसचिव खतिवडाले भने, ‘यसरी सारिरहने, तर अर्कोपटक पनि पहिलो नम्बरमा पालो नदिने परिपाटीले उनीहरू डिप्रेसन भई आत्महत्या गर्न बाध्य हुनेछन् ।’ अस्पतालमा हुने गरेका आत्महत्यालाई रोक्न र चापलाई कम गराउन पहिला चिकित्सक र अस्पतालले बिरामीलाई नीतिसंगत ढंगले सेवा दिनुको विकल्प नभएको उनले बताए ।

चिकित्सक नै बिरामीलाई आत्महत्या गर्न बाध्य बनाउँछन्
गत वर्ष बाग्लुङ, निसी–१ की ६० वर्षकी जयकला घर्ती मगरले ट्रमा सेन्टरको पाँचौँ तलामा झुन्डिएर आत्महत्या गरिन् । सेन्टरको बेड नम्बर ५३३ मा उपचाररत मगर मेरुदण्ड, क्षयरोग र खुट्टासम्बन्धी समस्याले ग्रसित थिइन् ।

उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया गर्नुपर्छ भन्दै उनलाई लामो समय अस्पतालमा राखे । दिएको समयमा उनको अप्रेसन भएन । समयमा अप्रेसन गर्नुको अलावा थिएटर अभाव भएको भन्दै निरन्तर पालो सारिरहे । एक महिनासम्म पालो सार्दै लगेपछि मगरले पीडा सहन नसकेर आत्महत्याको बाटो रोज्न पुगिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव भवनाथ खतिवडाका अनुसार चिकित्सक र अस्पतालको लापरबाहीकै कारण घर्ती मगरले आत्महत्या गर्न बाध्य भएकी हुन् । सरकारी अस्पतालमा समेत गरिब र विपन्न वर्गका नागरिकले अप्रेसन गर्न पालो पाउँदैनन् ।

मन्त्रालयका अनुसार सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न पनि महिनौँसम्म समय लाग्ने भएपछि बिरामी दुःख र पीडाबाट उन्मुक्ति पाउन आत्महत्या गर्न बाध्य हुने गरेको मन्त्रालयको एक अनुसन्धान प्रतिवेदनले देखाएको छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);