काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले देशको मुल कानुनमा स्पष्ट रुपमा सभामुख र उपसभामुख भिन्न दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरेकाले सो व्यवस्था अनुसार एक जनाले राजीनामा दिनुपर्ने उनले बताए ।
उनले एउटै पार्टीबाट सभामुख र उपसभामुख हुँदा संवैधानिक व्यवस्थाको उल्लंघन हुने भन्दै संविधानको कार्यान्वयनमा सरकारलाई सचेत गराए । संविधानको मुलभूत अन्तर्वस्तु चलाउन नहुने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति स्वीकार्न नसकिने बताए ।
संसद सञ्चालन नियमावलिमा गरिएको व्यवस्थालाई लिएर कांग्रेसप्रति भ्रम फैलाउने काम भएको भन्दै उनले भ्रष्टाचारीलाई कांग्रेसले संरक्षण नगर्ने र कानुनी शासनको पक्षमा उभिने स्पष्ट पारे ।