काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई वर्षपछि केन्द्रीय सदस्यमा तीन जनालाई मनोनयन गरेका छन् ।
सभापति देउवाले बिहीबार लमजुङका दिलबहादुर घर्ती, काभ्रेका शिवप्रसाद हुमागाईं र दाङकी शीला शर्मा खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । सभापति देउवाले केन्द्रीय सदस्यमा तीन जनालाई मनोनयन गरेपनि अझै केन्द्रिय कार्यसमितिले पूर्णता पाएको छैन ।
केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन दलित कोटाबाट एक सदस्य थप्नुपर्नेछ । सभापति सहित निर्वाचित र मनोनित गरी कांग्रेसमा ८५ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ ।
निर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि अब केन्द्रीय समिति ८४ सदस्यीय भएको छ । त्यस्तै देउवाले दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।