काठमाडौं, २० जेठ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिको सांसदहरुले चर्काे विरोध गरेका छन ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा बिशेष समय लिएर बोल्दै प्रमुुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले पटक–पटक पेट्रोल र डिजेलमा मूल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताए ।
कांग्रेस सांसदहरुले सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनीसमेत दिएका छन । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको तीन महिनाभित्र पटक–पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएकाले अन्य दैनिक उपभोग्य वस्तुकोसमेत मुल्यबृद्धि हुन पुगेको सांसदहरुको भनाइ छ ।
शनिवार नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा ३/३ रुपैयाँ वृद्धि गरेकोे छ । मूूल्यबृद्धिसँगै पेट्रोल लिटरमा १ सय १३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।