स्पेन, १९ जेठ । स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले आज सपथग्रहण गरेका छन् । स्पेनको आधुनिक इतिहासमा पहिलो पटक इसाईहरूको धार्मिक ग्रन्थ बाइबल वा ’क्रुसीफिक्स’ विना नै उनले शपथ लिए ।
उदारवादी सान्चेजको आगमनसँगै केन्द्रीय सरकारको क्याटलान निकायहरूमाथिको नियन्त्रण औपचारिक रूपमै अन्त्य भएको छ ।
निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज हिजो नयाँ प्रधानमन्त्री बनेका थिए । निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
नवनिर्वाचित प्रधानमन्त्री सान्चेज ४६ वर्षीय अर्थशास्त्री हुन् । स्पेनमा निकै प्रभावशाली नेता मानिने ६३ वर्षीय राजोए गत सन् २०११ देखि राज्यको शक्तिमा थिए । उनीविरुद्धमा सान्चेजले गत मे २५ तारिखमा भ्रष्टाचारको आरोपसहित संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बने ।
शपथ लिने क्रममा समाजवादी नेता सान्चेजले देशको संविधानको रक्षा गर्ने वाचा गरेका छन् । स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्न नवनिर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिए ।
क्याटलोनियामा पृथकतावादी नेता किम टोरा नेतृत्वको नयाँ क्षेत्रीय सरकारमा सहभागी हुने मन्त्रीहरूलाई पनि शपथ दिलाइएको छ । सो समारोहसँगै मड्रिडस्थित केन्द्रीय सरकारको क्याटलान निकायहरूमाथिको नियन्त्रण औपचारिक रूपमै अन्त्य भएको छ ।
गत वर्ष अक्टोबर महिनामा क्याटलान सरकारले एकपक्षीय रूपमा स्पेनबाट अलग भएको घोषणा गरेपछि मड्रिडले उक्त संवैधानिक व्यवस्था लागू गरेको थियो ।
अदालतले त्यस्तो घोषणालाई गैरकानुनी भएको फैसला सुनाएको थियो । टोराले मन्त्रिमण्डलमा सामेल गराउन चाहेका तर पृथकतावादी अभियानमा निर्वाह गरेको भूमिकाका लागि थुना वा स्वनिर्वासनमा रहेका चारजना भूतपूर्व क्याटलान मन्त्रीहरूले पठाएको पत्र उनीहरूका आफन्तहरू पढेर सुनाएका थिए ।