काठमाडौँ, १ भदौ । दूरसचार सेवा प्रदायक एनसेलले बाढीपहिरो प्रभावित क्षेत्रका आफ्ना ग्राहकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरेकोमा १ करोड ६६ लाख भन्दा बढी एसएमएस आदान प्रदान भएको जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको संचार सुनिश्चित गर्न एनसेलले तीन दिन सम्म प्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस सेवा प्रदान गरेको थियो । एनसेलले विपतको बेलामा आफ्ना ग्राहकलाई आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहयोग गर्नका लागि २३ जिल्लाका ग्राहकलाइ यो सेवा प्रदान गरेको थियो । यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो । साथै एनसेल सापटी सेवा अन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरि विद्यमान सेवा शुल्कमै ६० रुपैयाँ सापटी प्रदान गरेको थियो ।
बाढी प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको जानकारी पनि एनसेलले दिएको छ ।