विराटनगर, १८ जेठ । गृहमन्त्री रामबहादुर थापाले ३८ क्वीन्टल सुन तस्करीमा नेताको पनि संलग्नता भएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।
मोरङको विराटनगरमा संचारकर्मीसँग गृहमन्त्री थापाले सुन तस्करीको विषयमा बृहत अनुसन्धान भइरहेको भन्दै तस्करीमा नेताको पनि संलग्नता भएको पाइए कारबाही गर्ने चेतावनी दिएका हुन् ।
सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ले सुन तस्करीमा नेताको पनि संलग्नता रहेको बयान दिएपछि गहृमन्त्री थापाले सो अभिव्यक्ति दिएका हुन् । उनँले मुलुकमा तस्करी र भ्रष्टाचार व्याप्त रहेकाले नियन्त्रण गर्न सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए ।
गृहमन्त्री थापाले हरेक क्षेत्रमा मौलाएको सिन्डिकेट अन्त्यका लागि सरकारले कसैसँग सम्झौता नगर्ने बताए । उनले यातायातपछि वैदेशिक रोजगार, उद्योग, खोला तथा भौतिक निर्माणको ठेक्कापट्टाको सिन्डिकेट र अनियमितता अन्त्य गर्ने दाबी गरे ।




