काठमाडौँ , १ भदौ । दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ ।
सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय र निर्वाचनमा संलग्न कर्मचारीका लागि आचारसंहिता आजदेखि लागू भएको हो । निर्वाचन आयोगले सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था र सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि आचारसंहिता पालना गर्नुपर्ने बताएको छ । आचारसंहिता लागू भएसँगै कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान वितरण, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ ।
आचारसंहिता उल्लंघन गर्नेमाथि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । दुई नम्बर प्रदेशमा आगामी असोज २ गते निर्वाचन हुँदै छ ।