ललितपुर ११ जेठ । काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्ने जिम्मा चीनको चाइना रेल वे २५ औं ब्यूरो ग्रुपलाई दिएका छन् ।
शुक्रबार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रवन्धक लि होङ्गकीले अध्ययन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै चक्रपथमा रेल वे बनाउने जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।
सो कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइराला लगायतको उपस्थिति थियो ।
उपत्यकाको चक्रपथले काठमाडौं र ललितपुरलाई छोएको छ । महानगरले मोनोरेल सञ्चालन सम्बन्धी प्रकाशन गरेको आशय पत्रमा रेल वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो ।
सोही अनुसार शुक्रबार सम्झौता भएको हो । सम्झौता अनुसार— रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने छ । चिनियाँ कम्पनीले छ महिनामा अध्ययनको निष्कर्ष निकालेर विकल्प सहित सिफारिस गर्ने बताइएको छ ।
०००