काठमाडौं, ९ जेठ । ९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेन्दान्त अस्पताल लगिएको छ । विगत केही हप्तादेखि ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपरान्ह भारतको मेदान्त अस्पताल लगिएको हो ।
अस्पतालले राष्ट्रकवि घिमिरेलाई एम्बुलेन्समा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पु-याएको थियो । ग्यास्ट्राईटीस र उच्च रक्तचापका कारण थला परेका राष्ट्रकवि घिमिरेको दिसामा समेत रगत देखिन थालेपछि ग्रान्डी अस्पतालमा भर्ना गरेर राखिएको थियो ।
उनको उपचारमा संलग्न चिकित्सकहरुको सिफारिसमा घिमिरेलाई थप उपचारका लागि दिल्ली लगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा उनलाई थप उपचारका लागि बुधबार अपरान्ह भारत लगिएको हो । घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीको बताइसकेका छन् ।