नारामा सीमित गाउँगाउँमा सिंहदरबार, १५ सय कर तिर्न ३० हजार खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनगढी, १ भदौ । पाण्डवगुफा–८ गोत्रीका हंस नेपाली आफ्नो फर्मको कर तिर्न आन्तरिक राजस्व कार्यालय धनगढी आएको पाँच दिन भइसक्यो । सृष्टि निर्माण सेवा सञ्चालन गरेका उनले वार्षिक १ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्छ। सो रकम तिर्न उनले धनगढीमा धेरै नै प्रयास गरिसकेका छन् तर सफल भने हुन सकेका छैनन्।

 

राजस्वबापत तिर्नुपर्नेभन्दा धेरै बढी ३० हजार रुपैयाँ खर्च भइसकेकाले उनी आजित भइसकेका छन् । त्यति मात्र होइन, राजस्व रकम तिर्ने दिन निश्चित भइनसकेकाले उनी थप पीडामा छन् । सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीयलाई कर तिर्न र कर चुक्ताको प्रमाणपत्र लिन धनगढी र महेन्द्रनगर जानुपर्ने बाध्यता छ।

 

तर धनगढी र महेन्द्रनगर आउन मात्रै उनीहरूलाई पाँच दिनजति लाग्छ । अर्को कुरा ती ठाउँ आएपछि पनि सजिलै राजस्व तिर्न सकिन्न। राजस्व तिरिसक्दा ठूलै युद्ध जितेको अनुभव गर्नुपर्ने बाध्यता छ । आन्तरिक राजस्व कार्यालय धनगढीले पहिले आफैं करको रकम बुझेको रसिद दिन्थ्यो । धेरै टाढाबाट आउँदा दुःख भोग्नुपर्ने भए पनि समयमै काम हुन्थ्यो । काम सकेपछि तुरुन्तै घर फर्कन पाइन्थ्यो । खर्च पनि त्यति धेरै हुँदैनथ्यो।

 

तर पछि राजस्व कार्यालय धनगढीले आफैं रकम लिन छाड्यो । राजस्व कार्यालयले कार्यालय परिसरभित्रै एभरेस्ट बैंक लिमिटेडको काउन्टर स्थापना ग¥यो । त्यहाँ कर तिर्न आउने सबैले सोही काउन्टरमा गएर कर तिर्नुपर्छ । ‘जब एभरेस्ट बैंक लिमिटेडको काउन्टरमा गएर रकम तिर्नुपर्ने व्यवस्था गरियो, त्यसपछि यो समस्या आएको हो,’ बझाङको छान्न खप्तड गाउँपालिकाका रामबहादुर सिंहले भने । उनले एभरेस्ट बैंकमा पर्याप्त कर्मचारी नभएकाले यो समस्या आएको बताए।

 

सेती अञ्चलका पाँच जिल्लामा २८ हजारभन्दा बढी करदाता प्यानमा आबद्ध भएका छन् । त्यसमा २५ हजारजतिले प्रत्येक वर्ष कर तिर्ने र रिन्यु गर्ने गर्छन् । त्यसमध्ये पनि करिब २० हजार फर्म कैलाली जिल्लाका मात्र छन् । यी जिल्लामा ५ हजारभन्दा बढी फर्म भ्याटमा दर्ता भएका छन् । उनीहरू प्रत्येक वर्ष कर चुक्ता गर्न धनगढी आउनुपर्ने हुन्छ । अहिले धेरैमा साउनभित्रै कर तिरिसक्नुपर्ने भन्ने बुझाइ छ । समयमै कर नतिरे दुईगुणा बढी लाग्छ भन्ने बुझाइ पनि छ । त्यसैले पनि एकैपटक भीड लागेको हो। आजको राजधानी दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);