काठमाडौं, ६ जेठ । गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् ।शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफ्नो चीन भ्रमणको जानकारी उनले दिए । बैठकमा उनले भने, ‘सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधीनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको छ, सम्बन्ध विस्तारका लागि यही महिना चीन जाँदै छु ।’
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको पहिलो बैठकमा उनले भने, ‘समृद्धिको यात्राका लागि असल छिमेक नीतिको तयारी सरकारले गरेको छ ।’
यसैबीच, ओलीले कम्युनिस्ट पार्टीहरू मिल्दा कांग्रेस झस्किनुपर्ने कुनै कारण नभएको टिप्पणी गरे । उनले भने, ‘वामपन्थीले निर्वाचन जितेर सरकार निर्माण गर्दा होस् वा पार्टी एकता गर्दा त्यसबाट कांग्रेस झस्किनुपर्ने कुनै कारण छैन ।’ नेकपा मुलुककै सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै यो शक्तिले गलत ठाउँमा प्रहार नगर्ने र प्रयोग नहुने प्रस्ट्याए । आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले एकीकरण भएकाले अब यसलाई विधि, विकास र समृद्धिका लागि उपयोग गर्ने उनको तर्क थियो ।
प्रधानमन्त्री, मन्त्री र सरकारका काम कारबाही ठीक ढंगले भए/नभएको बारे अवलोकन गर्न सांसदहरूलाई आग्रह गर्दै उनले आफूले नातावाद, कृपावाद र भेदभावका लागि नभई देश बनाउने संकल्प लिएर आएको बताए । उनले सांसदहरूलाई दायाँबायाँ गर्ने छुट नभएको बताउँदै संसद् सरकार फेर्नेदेखि कानुन बनाउनेसम्मको थलो भएकाले यसमा चनाखो रहन निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले समृद्धिको खाकासहित सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले यसलाई पास गराउने र कार्यान्वयन गर्नेगरी प्रस्तुत हुन सांसदलाई निर्देशन दिए । नीति कार्यक्रममा कुनै कमजोरी रहेमा नेतृत्वलाई भन्नुपर्ने र संसद्को बैठकमा पार्टीको मर्यादामा रहनेगरी यसको पक्षमा बोल्नुपर्ने बताए । देशको आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन हुन सक्ने उनले बताए । निर्वाचन क्षेत्र विकास कार्यक्रमको स्वरूप परिवर्तन हुने बताउँदै उनले बजेटमा प्रदेशगत सुझाव दिन आग्रह गरेका छन् । सांसदहरूले निर्वाचन क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यसको ढाँचा परिवर्तन हुन सक्ने बताए ।
ओली दलको नेता
नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । ओलीलाई संसदीय दलको नेताका लागि बैठकमा सांसद देवप्रसाद गुरुङको प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो ।
बैठकमै पार्टी एकताको खुसियालीमा प्रधानमन्त्री ओलीले चकलेट बाँडेका थिए । संसदीय दलको नेता छनोट भए पनि उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुन बाँकी छ । यसअघि एमालेले सुवासचन्द्र नेम्वाङलाई उपनेता बनाएको थियो भने खगराज अधिकारीलाई प्रमुख सचेतक र शान्ता चौधरीलाई सचेतक चयन गरेको थियो ।
उता, माओवादी केन्द्रमा संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा देवप्रसाद गुरुङ चयन भएका थिए । एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि संसदीय दलको विधान परिमार्जन गर्दै दलको उपनेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारी छिट्टै चयन गरिने नेता गुरुङले बताए ।
विश्वकै असाधारण घटना
यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभई विश्वकै असाधारण घटना भएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि दुई पार्टीको एकताले मार्ग प्रशस्त गरेको बताए ।
दुई ठूला कम्युनिस्ट पार्टी एकतापछि देशविदेशबाट बधाईका सन्देश लगातार आइरहेको बताउँदै उनले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको बताए । मुलुक र जनताको आवश्यकता एवं अपेक्षा पूरा गर्न आफूहरूको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले आर्थिक समृद्धिको दिशामा मुलुकलाई लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रूपमा स्थापित भएको बताए ।
इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ आफूहरू एकीकृत रूपमा अघि बढ्ने संकल्प गरेको र त्यो पूरा भएको उनको तर्क थियो ।विकास समृद्धिको यात्रालाई प्रभावकारी रूपमा अघि बढाउने दायित्वसमेत नेपाल कम्युनिस्ट पार्टी र वर्तमान सरकारको काँधमा आएको अध्यक्ष दाहालले बताए । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।