सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक २०७५ स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक २०७५ स्वीकृत

काठमाडौं, ४ जेठ । प्रतिनिधीसभाले सार्वजनिक सुरक्षा तेश्रो संसोधन विधेयक २०७५ लाई सर्वसम्मति स्वीकृत गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

त्यसअघि सो विधेयकमाथिको छलफलमा भाग लिदै सांसद कृष्णभक्त पोख्रेलले नजरबन्दमा रहेका व्यक्ति र तीनका नजिकका नातेदारलाई त्यसबारे जानकारी दिनुपर्ने भन्ने प्रावधान अत्यन्तै राम्रो भएको भन्दै प्रशंसा गरे ।

यद्यपि कहिलेकाँही सम्बन्धीत निकायबाट गैहकानुनी आदेश पनि हुन सक्नेबारे भने विधेयक मौन रहेको भन्दै त्यसबारे पनि स्पष्ट पार्नुपर्ने उनले आवश्यकता औल्याए ।

विधेयकमा स्थानीय अधिकारीले जारी गरेको आदेश बद्नियत साथ जारी गरेको ठहरिएमा त्यस्तो अधिकारीलाई विभागिय कारवाही भई सजाय हुने भन्ने उल्लेख गरिएपनि कहिले काँही आदेश नै गैह्कानुनी हुन सक्ने भएकाले त्यस किसिमको आदेशले पुर्याउने क्षति र क्षतिपुर्तिका बारेमा पनि ऐनमा ठोस व्यवस्था गर्नुपर्ने माग गरे ।

यसअघि बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सार्वजनिक महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद सञ्जय कुमार गौतमले कुनै समय नेपाली कांग्रेस पनि सबै भन्दा ठुलो पार्टी थियो भन्ने नविर्सन सत्तारुढ दललाई सचेत गराए ।

चुनावी परिणामलाई स्वीकार गर्दै शसक्त र जिम्मेवार प्रतिपक्षको भुमिकामा रहने प्रतिवद्धता जनाईसकेकाले जिम्मेवार नेताले अभिव्यक्ति दिँदा कांग्रेसको विगतलाई हेक्का राख्न उनले नेताहरुको ध्यानाकर्षण गराए । उनले भक्त बहादुर सुनारको जेल भित्रै मृत्यु भएको भन्दै सोबारे छानविन गरि सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद कमला रोकाले रुकुम पुर्वका जिल्लाका कैयौ सरकारी कार्यालयहरु कर्मचारी विहिन भएको उल्लेख गर्दै विशेष सेवा सुविधा दिएर भएपनि हिमाली जिल्लामा कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद दुर्गा पौडेलले ठुलो विकासका बजेट प्रादेशिक संरचनाका कारण कटौति हुने संभावना रहेको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद यशोधा गुरुङ सुवेदीले हिमाल पारीको जिल्ला मनाङमा उचित मोटर सञ्जालले छुन नसकेको भन्दै मोटर सहज ढंगले सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिन् । सबै जिल्लाहरुमा मोटरबाटो पुर्याउने सरकारको लक्ष अनुसार जिल्लामा मोटरबाटो विस्तारका लागि बजेट विनियोजन गर्न सांसद गुरुङले माग गरिन् ।

बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा आगामी जेठ ७ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने कुरा जानकारी गराउँदै सचिवालयले निर्धारण गरेको पोशाकमा अपरान्ह पौने ४ बजे भित्र आआफ्नो स्थानमा आसन ग्रहण गर्न सांसदहरुलाई अनुरोध गरेका छन् । संसदको अर्को बैठक जेठ ७ गते सोमबार अपरान्ह साढे ५ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);