अप्सरा लामिछाने
काठमाडौं, २ जेठ । स्थनीय तहबाटै न्यायीक निरुपण हुन थालेपछि उजुरी गर्नेको संख्यामा बृद्धि भएको छ । संवैधानीक व्यवस्था अनुसार स्थानीय तहको उपप्रमुखको अध्यक्षतामा न्यायीक समिति गठन भएसँगै सम्बन्ध विच्छेद, घरबाहाल लगायतका उजुरी गर्नेको संख्या बढेको हो ।
स्थानीय तहले नै घरबाहाल, साँधसीमाना, ध्वनी प्रदुषण, सम्बन्ध विच्छेद, सार्वजनिक स्थलमा बाधा लगायतका विषयमा उजुरी लिने र न्यायीक निरुपण गर्ने भएपछि उजुरी गर्नेको संख्या पनि बढ्दै गएको छ । संवैधानीक व्यवस्था अनुसार स्थानीय तहको उपप्रमुखको अध्यक्षतामा न्यायीक समिति गठन गर्ने व्यवस्था छ ।
सोही अनुसार समिति गठन भइ मुद्धा हेर्न सुरु भएसँगै काठमाडौं महानगरपालिकामा मात्र आर्थिक वर्ष २०७४-७५ को बैशाखसम्ममा ५ सय ५७ उजुरी परेको छ । जसमध्ये न्यायीक समितिले हेर्ने गरी एक सय वटा उजुरी परेका छन् । न्यायीक समितिमा परेका उजुरीमध्ये ६८ वटा उजुरी फस्र्याैट भइसकेका छन । त्यस्तै ललितपुर महानगरपालिकामा ७ सय ५८ वटा उजुरी परेकोमा १ सय ५९ वटा उजुरी मिलापत्रसहित फस्र्याैट भएका छन् भने ५ सय ९९ उजुरी फस्र्याैट हुन बाँकि छ ।
यस अबधीमा काठमाडौं महानरपालिकामा सबै भन्दा बढी घरबहाल सम्बन्धी उजुरी परेको छ । त्यस पछि सम्बन्ध विच्छेद, साँधसिमाना लगायतका उजुरी परेका छन् । ललितपुर महानगरपालिकामा भने साँधसिमाना सम्बन्धी उजुरी दिनेको संख्या बढी छ ।
कतिपयलाई अझै स्थानिय तहबाटै न्यायीक निरुपण हुने विषयमा जानकारी छैन । यस विषयमा जनचेतनामूलक कार्यक्रम गरेमा उजुरी गर्नेको संख्या अझै बढ्नसक्ने सरोकारवालाको भनाइ छ ।