काठमाडौँ, २ जेठ । तपाईंलाई मन पर्ने नयाँ नेपाली ब्यान्ड कुन हो , प्रश्न सुनेपछि गायक मुक्ति शाक्य एक छिन टोलाए । निराशजस्तै देखिए । अनि भने, ‘विगत पाँच/ सात वर्षयता नयाँ ब्यान्ड आएको छैन । रक सिनमा राम्रो गरिरहेको अन्डरसाइड छ । तर, यो नयाँ ब्यान्ड होइन ।’
काठमाडौं– नेपालको मेटल म्युजिकमा अग्रणी ‘अन्डरसाइड’ ब्यान्ड सन् २०१० मा स्थापना भएको थियो । मुक्तिका अनुसार नेपालमा सांगीतिक समूहहरू बन्नै छाडेका छन् । यस्तो किन भएको होला , मुक्ति एन्ड द रिभाइभलका फ्रन्टम्यानलाई यसको ठयाक्कै जवाफचाहिँ थाहा छैन । ‘नयाँ ब्यान्ड आउँदा राम्रो हुन्छ,’ उनले यत्ति भने, ‘हामीलाई पनि च्यालेन्ज फिल हुन्छ । नयाँले त यस्तो गर्यो, हामीले झन् मिहिनेत गर्नुपर्छ भन्ने दबाब हुन्छ । तर, अहिले यस्तो छैन । बजारमा नयाँ ब्यान्ड देखेको छैन मैले ।’
द मन्की टेम्पलका भोकलिस्ट सरिन देउजालाई ब्यान्ड बन्दै नबनेको भन्ने लाग्दैन । तर, ती जनस्तरमा पुग्न नसकेको उनले बताए । ‘थुप्रो नयाँ ब्यान्ड छन्,’ हाल अमेरिका रहेका उनले फेसबुकमार्फत भने, ‘तिनीहरू श्रोतासम्म चाहिँ पुगेका छैनन् । यसका लागि मिहिनेत, लगाब र धैर्य चाहिन्छ ।’ नयाँ ब्यान्डहरू सिनेमा आउँदा नयाँ शैली र स्वाद अनुभव गर्न पाइने उनको बुझाइ छ । श्रोताका लागि यो राम्रो हुने बताए ।
‘बिर्सिदेऊ मलाई ’, ‘पहिलो र अन्तिम पत्र ’ जस्ता गीत निकालेको ‘मजिपा’ नामक नयाँ ब्यान्ड १९७४ एडीका गिटारिस्ट मनोजकुमार केसीलाई राम्रो लागिरहेको छ । पछिल्लो समय स्थापना भएका ‘पहेँलो बत्तीमुनि’ र ‘द एक्ट’ पनि उनका फेभरेट हुन् । यी ब्यान्डले म्युजिकमा राम्रो गर्न सक्ने छाँट मनोजले देखेका छन् । ‘ब्यान्डहरू टन्नै फर्म भइरहेका छन्,’ उनले भने, ‘तर, ठूलो पाराले आउन नसकेको साँचो हो ।’
म्युजिकलाई व्यवसाय बनाउन सकिँदैन ठानेर युवाहरूले आफ्ना ब्यान्डलाई गम्भीरतापूर्वक नलिएको हुन सक्ने मनोजको अनुमान छ । ‘प्लस टु सकेपछि विदेश जाने चलन छ अहिले,’ उनले भने, ‘त्यसमाथि कन्सर्ट आयोजकले नयाँभन्दा स्थापित ब्यान्डलाई महत्त्व दिन्छन् । यस्तोमा नयाँलाई एडजस्ट हुन अलि गाह्रो पर्छ ।’ यति हुँदा हुँदै पनि संगीत क्षेत्रमा गरिखानका लागि प्रशस्त बाटो खुलेको उनले बताए । रेस्टुरेन्टहरूमा बजाउनेदेखि इन्स्टिच्युट र स्कुलहरूमा संगीत सिकाएर पनि राम्रो आम्दानी गर्न सकिने बताए ।
२०१० मै स्थापित ‘जिन्दावाद’ ब्यान्डका रोहित शाक्य युटयुब र अन्य डिजिटल प्लेटफर्मका कारण मान्छेहरू सोलो करिअरमा रमाउन थालेको ठान्छन् । यही कारण ब्यान्ड म्युजिक सुस्ताएको उनको बुझाइ छ । बीचमा निष्क्रिय आफ्नो ब्यान्डलाई रोहित पुन जगाउन खोज्दै छन् ।
वर्ष दिनअघि गठन भएको अल्टरनेटिभ इलेक्ट्रो रक विधाको ‘द एक्ट’ ब्यान्डकी भोकलिस्ट सुजिना श्रेष्ठ ब्यान्डहरू कम हुँदा संगीत क्षेत्रमा मौलिकता हराउने बताउँछिन् । ‘ब्यान्डले र साउन्ड निकाल्छ,’ उनले भनिन्, ‘यसमा प्रोडयुस्ड म्युजिक हुँदैन । चारपाँच जनाको सिर्जनशीलता मिसिएको संगीत र स्टुडियोमा प्रशोधन गरिएको संगीतमा धेरै फरक हुन्छ ।’ कभर सङको माहोलले ब्यान्डको महत्त्व छायामा पारेको हुन सक्ने उनको अनुमान छ ।
सुजिना पहिला ‘डियाब्लो’ र ‘क्रमश नेपाल’ ब्यान्डमा थिइन् । सोलो म्युजिक खासै गरिनन् । अचेल विभिन्न कार्यक्रम र कम्पोजिसनका काममा व्यस्त हुन्छिन् । द एक्टले सार्वजनिक गरेको ‘हराएको थिएँ म ’, ‘बुझाऊँ म कसरी’, ‘प्रश्न ’ जस्ता गीत रक प्रेमीमाझ चर्चित छन् । ब्यान्डहरू यसरी आ–आफ्नो सर्कलमा मात्रै सुनिन थालेको मनोजले बताए ।
‘पहिला रेडियो र टेलिभिजन मात्र हुँदा ब्यान्डका गीत सबैले सुन्थे,’ उनले भने, ‘ती गीत सबैलाई कण्ठ हुन्थ्यो । अहिले युटयुबमा खोजेर सुन्नुपर्छ । यसले श्रोतालाई विभाजित गरिदिएको छ ।’ कान्तिपुरबाट