रामेछाप, ३१ वैशाख । रामेछापको मन्थलीमा रणजोर खोलाले बगाउँदा एक किशोरी वेपत्ता भएकी छिन् । कक्षा ११ को परीक्षा दिन जाने क्रममा खोलाले बगाउँदा मन्थली हाटेचौरकी १८ बर्षकी उष्मा फुयाँल बेपत्ता भएकी हुन् ।
अन्य ६ जनलाई भने उद्धार गरिएको छ । उद्धार गरिएकाहरुको रामेछाप सामुदायिक अस्पताल मन्थलीमा उपचार भैरहेकोे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
उनँका अनुसार बेपत्ता उष्माको खोजी भइरहेको छ । परिक्षा दिन हिँडेका ७ जना विद्यार्थीहरु एक अर्काको हात समातेर खोला तरेका थिए । एक अर्काको हात खुस्कीएपछि उनीहरुलाई खोलाले बगाएको हो ।
आइतबार रातिदेखी परेको बर्षाका कारण रणजोर खोलामा पानीको सतह बढेको छ । बर्षाका कारण रामेछाप सदरमुकाम मन्थली बजार समेत अस्तव्यस्थ भएको छ । वर्षाका कारण मन्थली बसपार्क, मन्थली बजार र खाँदबारी क्षेत्र डुबानमा परेको छ ।