एजेन्सी, ३१ बैशाख । इङ्लिस क्लब म्यानचेस्टर सिटीले ५७ वर्ष पुरानो रेकर्ड तोडेको छ । म्यानचेस्टर सिटीले गएराति साउथ ह्यामटनविरुद्ध १–० गोल अन्तरको नतिजा दर्ता गरी एकै सिजनमा ३२ खेल जितेर ५७ वर्ष पुरानो रेकर्ड तोडेको हो ।
यसअघि एकै सिजन ३१ खेल जितेको रेकर्ड टोटेनह्यामको नाममा थियो । टोटनह्यामले सन् १९६१ मा एकै सिजनमा ३१ खेल जितेको थियो । टोटेनह्यामको रेकर्ड तोड्ने क्रममा म्यानचेस्टर सिटीका लागि वैकल्पिक खेलाडी गाब्रियल जिससले इन्जुरी समयको अन्तिममा गोल गरे ।
जिससको गोलसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा १ सय अंकको अर्को रेकर्ड राखेको छ । प्रिमियर लिगमा यसअघि सबैभन्दा बढी अंकको रेकर्ड चेल्सीको नाममा थियो । चेल्सीले सन् २००५ मा ९५ अंक जोडेर रेकर्ड राखेको थियो ।
म्यानचेस्टर सिटीले प्रिमियर लिगमा बढी गोल गरेको रेकर्ड पनि आफ्नो नाममा लेखाएको छ । सिटीले १ सय ६ गोल गरेर रेकर्ड राखेको हो । यसअघि यो रेकर्ड चेल्सीको नाममा थियो । चेल्सीले ८ वर्ष पहिले १ सय ४ गोल गरेको थियो ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले आफ्ना खेलाडीले शानदार खेलेका कारण तीन वटा रेकर्ड सम्भव भएको बताए ।