काठमाडौं, ३१ बैशाख । नेपाल भ्रमणका क्रममा आतिथ्यका लागि नेपाली जनतालाई धन्यवाद दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका कारण नेपालले खेपेका कतिपय समस्या सुन्नै चाहेनन्। भारतले प्रतिबन्ध लगाएपछि नेपालको बैंकिङ क्षेत्रमा रहेका भारतीय नोट साट्ने विषयमा मोदी मौन रहेर भारत फर्के।
नेपाली बुलेटमा ग्यास बोक्न पाउनुपर्ने नेपालले राखेको विषयमा पनि मोदी मौन रहे। यसबाहेक चिया, अदुवा, अलैंचीको भारत निर्यातका विषयमा देखिएको समस्या समाधान गर्ने विषयमा भ्रमणको समयमा भारतीयले खासै चासो राखेनन्। शुक्रबार बेलुका भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले भारतीय नोटको भुक्तानीका विषयमा कुरा उठाए पनि मोदी मौन रहे।
विभिन्न तहबाट प्रयास गरिए पनि समाधान नभएका केही महत्वपूर्ण विषयवस्तुको गाठो भारतीय प्रधानमन्त्री मोदीबाट फुकाइने आश नेपाली व्यवसायी र किसानले गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीबाट त्यस्ता विषयवस्तुमा चासो नदेखाइँदा समस्या जहाँको त्यही रहने भएको छ। भारतीय नोटबन्दीका कारण पाँच सय र एक हजारदरका साढे चार करोडभन्दा बढी भारतीय नोट नेपालको बंैकिङ प्रणालीमा थन्किएका छन्।
यो विषय पटकपटक विभिन्न तहमा नेपाली पक्षले उठाए पनि हालसम्म समस्या समाधान भएको छैन। भारतीय प्रधानमन्त्री मोदीबाट यो समस्या समाधान हुने आश गरिएको थियो। प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा आफूले बैंकिङ प्रणालीमा रहेका नोट साट्ने विषय गम्भीर रूपमा उठाएको आइतबार संसद्मा सम्बोधन गर्दै बताएका छन्। प्रधानमन्त्री ओलीले यो विषयमा चासो व्यक्त गरे पनि मोदीबाट भरपर्दो सकरात्मक जवाफ आउन सकेन।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।