काठमाडौं, २७ बैशाख । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार विकासका विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवारको प्रतिनिधीसभाको बैठकमा समय लिएर बोल्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहनुभएका भट्टराईले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधारका विषयलाई प्राथमिकता दिन सुझाव दिएका हुन् ।
बजेटको प्राथमिकता र वित्तिय संरचनाको कुरा गर्दा समाजवादको ठुला कुरा गर्नुभन्दा भौतिक र सामाजिक पूर्वाधार तयार गर्नुपर्नेमा उनको जोड छ । सामाजिक पूर्वाधार विना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उनले सबै प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्नपर्ने बताए ।
संयोजक भट्टराईले कृषिको आधुनिकीकरणका लागि सिंचाईको उपयुक्त व्यवस्था गरि बैज्ञानिक बाली प्रणाली अपनाउनुपर्नेमा जोड दिए । उनले अनुत्पादक क्षेत्रको लगानी घटाउन सरकारलाई सुझाव दिए । बैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई सशक्त र कामकाजी बनाउनुपर्ने, सबैलाई खुसी पार्ने प्रयत्न भन्दा पनि प्राथमिकताको निर्धारणमा ध्यान केन्द्रित गर्नुपर्ने, भूमि व्यवस्थापनमा विशेष ध्यान पुर्याउनुपर्ने उनको सुझाव छ ।
भ्रष्टाचार निवारण गर्ने निकाय नै भ्रष्टाचारमा लागेको भन्दै उनले भ्रष्टाचार निवारणमा आमुल परिर्वतन गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।