एजेन्सी, २७ बैशाख । ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले भिल्लारियलमाथि ५–१ गोलअन्तरको फराकिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डेम्बेलेको दुई गोलको मद्दतमा भिल्लारियलमाथि ५–१ गोलअन्तरको जित दर्ता गरेको हो ।
भिल्लारियललाई पराजित गर्ने क्रममा बार्सिलोनाले पहिलो हाफमा तीन गोल गरेको थियो । फिलिप काउटिन्होको गोलमा ११ औं मिनेटमा अग्रता लिएको बार्सिलोनाका लागि पाउलिन्होले १६ औं तथा लिओनल मेस्सीले ४५ औं मिनेटमा एक एक गोल थपे । तीन गोलले पछि परेको अवस्थामा भिल्लारियलले ५४ औं मिनेटमा एक गोल फर्कायो । तर अन्तिम ५ मिनेटमा डेम्बेलेले दुई गोल गरेर बार्सिलोनालाई ५–१ को जित दिलाए ।
यसअघि नै उपाधि रक्षा गरिसकेको बार्सिलोना विजयी भएको दिन दोस्रो स्थानका लागि संघर्ष गरिरहेको रियल मड्रिड भने पराजित भएको छ । रियल मड्रिड अंक तालिकामा आफूभन्दा निकै पछाडि रहेको सेभियासँग ३–२ गोलअन्तरले पराजित भएको हो ।
तीन गोलले पछि परेको अवस्थामा रियल मड्रिडले अन्तिम आठ मिनेटमा दुई गोल फर्काएको हो । खेलमा सेभियाले २६, ४५ र ८४ औं मिनेटमा गोल गरेर अग्रता लिएको थियो । तेस्रो गोल रियल मड्रिडका रामोसले गरिदिएका हुन् । तर ८७ औं मिनेटमा मेयोरल र इन्जुरी समयको पाँचौं मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल फर्काएर खेल ३–२ ले टुंग्याए ।