धुनषा, २६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर प्रदेश नम्बर २ का जिल्लामा सरसफाइ अभियान तीव्र पारिएको छ । राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिमात्रै नभए विद्यालयले समेत सरसफाइका लागि विद्यार्थीलाई सडकमा उतारेका छन् ।
जनकपुरमा आज निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरुले सरसफाई गरे । विद्यार्थीहरुले जनकचोक, जानकी चोक, राम चोक, शिव चोकलगायतका स्थानमा सरसफाई गरेका हुन् । भारतीय प्रधानमन्त्री जनकपुर आउने क्रममा जनकपुरमा रहेका फोहरलाई सफाई गर्ने अभियानमा आफूहरु रहेको एन प्यावसनका धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले जानकारी दिए ।
यसैबीच बुधबार बिहान आएको हावाहुरीका कारण जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढलेका छन् । जनकपुरका विभिन्न ठाउँमा बनाइएका स्वागतद्वारमा हावाहुरीले ढालेको हो । स्वागतद्वार सडक जाम हुनेगरी ढलेका छन् ।
यसैगरी मोेदीको स्वागतका लागि बनाइएको स्टेजमा पनि हावाहुरीका कारण क्षति पुगेको छ । रंगभूमि मैदान बाह्रबिग्हामा पानी जमेको छ । जानकी मन्दिर, अस्पतालरोड, बाह्रबिग्हाको मूल ढोका र रामानन्दचोकमा ढलेका स्वागतद्वार तथा प्रवेशद्वार उठाउने र मर्मत गर्ने काम भइरहेको छ ।