झापा, १९ वैशाख । झापाको दमकमा बुधबारदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । वैशाख २८ गतेसम्म चल्ने प्रतियोगिताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको छ । उसले मोफसलको चर्चित टोली झापा ११ लाई ४–० गोलले पराजित गर्यो ।
विजेता मदन भण्डारी प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । बुधबारको खेलमा विजेता मदन भण्डारीका सौजन राई म्यान अफ द म्याच घोषित भए ।
उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा बिहीबार आयोजक दमक नगरपालिकाको टिम र रुपन्देही ११ बीचको खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्ने छन् ।