काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार सहमतीमै सकिएको भनिएको भोलीपल्टै सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीचको विवाद सतहमा आएको छ ।
पार्टीको विधान बिपरित सभापति देउवाले पार्टीमा पदाधिकारी मनोनयन गर्न खोजेको र सहमती बिपरित देउवा अघि जान खोजेको भन्दै पौडेलले आपत्ती जनाएपछि सोमवार पदाधिकारी नियुक्ती गर्न बोलाइएको बैठक बस्न सकेन ।
२००७ सालदेखी नेपाली राजनीतिमा सक्रिय जेठो राजनीतिक दल नेपाली काँग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेन । अपेक्षा अनुसार जीत हासिल गर्न नसकेपछि एक अर्कामाथि दोष थुपार्दै नेताहरु गुटबन्दीमा लागेका छन् ।
मुलत दुइ गुटमा देखा परेका काँग्रेसका नेताहरु चुनाबी परिणामको दोष पार्टीलाई नै जिम्मा लगाएर पन्छिन खोजेपनि देउवाले आफनो बहुमत जुटाउन बाँकी रहेका पदाधिकारी मनोनयन गर्न खोज्दा बिवाद सतहमा आएको छ ।
यही कारणले सोमवार बस्ने भनिएको निर्वाचित पदाधिकारीको बैठक बस्न नसक्दा दुबै पक्षका नेताहरु कोठे बैठकमा लागेका छन् । निर्वाचनमा पराजयको दोष पार्टी सभापति देउवाले लिन नमानेपछि आइतवार मध्यमार्गी बाटो अपनाएर हारको जिम्मेवारी केन्द्रिय समितिले नै लिने, पार्टीका जिल्ला सभापतिहरुको भेला आउँदो जेठमा र महासमितको भेला भदौमा बोलाउने सहमति दुबै पक्षबीच भएपछि केन्द्रिय कार्यसमितिको बैठक सकिएको थियो ।
काँग्रेस सभापति देउवाले सहमती बिपरित पार्टीको महाधिबेशन सकिएको दुइ महिनाभित्रै पदाधिकारी नियुक्त गर्नु पर्नेमा त्यसो नगरी दुइबर्ष पछि मनोनयन गर्न खोज्दा बिवाद बढेको हो ।
कांग्रेसका दुइ खेमाले घर झगडा चर्काइरहेका बेला काँग्रेसका हितैषीले भने दुबै पक्षलाई झगडा नगर्न सुझाव दिँदै मिलेर पार्टीको नीति र बिधान अनुसार काम गर्न आग्रह गरेका छन ।
लामो राजनीतिक इतिहास बोकेको पार्टीले गर्ने काम, त्यसका नेता र कार्यकर्ताको त्याग र बलिदान हेरेर इमान्दारी पूर्वक पार्टीलाई अघि बढाउन नसके पार्टी छिन्नभिन्न हुने संभावनालाई इन्कार गर्न नमिल्ने बैद्धिक क्षेत्रमा बिश्लेषण भइरहेको छ ।