साउन ३१, काठमाण्डौँ । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस सुपर कप फुटबलको पहिलो लेग अन्तर्गत आइतबार राति भएको बार्सिलोनासँगको खेलमा दोहोरो पहेंलो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिएका थिए ।
दोहोरो पहेंलो कार्डका कारण स्वतः एक खेलको प्रतिबन्ध लागेकामा मैदानबाट बाहिरिने क्रममा रेफ्री रिकार्डो डि बुर्गोसलाई धकेलेकाले रोनाल्डोमाथि थप चार खेलको प्रतिबन्ध लागेको हो । रोनाल्डोले गोल गरेर त्यसको सेलिब्रेसनका लागि जर्सी फुकालेकाले पहिलो पहेंलो कार्ड पाएका थिए । त्यसको केही मिनेटपछि स्यामुएल उमटिटीसँगको ट्याकलका लागि उनले दोस्रो पहेँलो कार्ड पाएका थिए । थप चार खेलको प्रतिबन्धविरुद्ध उनले अपिल गर्न पाउने छन् । अपिलका लागि १० दिनको समय बाँकी छ ।
रोनाल्डोको अपिल खारेज भएमा उनले स्पेनिस ला लिगा तथा अरु घरेलु प्रतिस्पर्धाका चार खेल गुमाउने छन् ।