प्रकाश नेपाल
पाल्पा, १४ बैशाख । पाल्पा तानसेनको अमर नारायण मन्दिर झण्डै २ सय १२ बर्ष अगाडी काजी अमर सिंह थापाले निर्माण गरेका थिए । अंग्रेजलाई पराजित गरेपछि निर्माण गरिएको सो मन्दिर अहिले जिर्णोद्वार गर्ने भन्दै लथालिङ्ग बनाइएको छ । निर्माण कम्पनीको लापरबाहीले सो क्षेत्र खण्डहरमा परिणत भएको छ ।
पाल्पा तानसेनको अमर नारायण मन्दिरको जिर्णोद्वार विश्व बैंकको ६० प्रतिशत ऋण ४० प्रतिशत अनुदानमा निर्माण सुरु गरिएको हो । २०७० साल असारमा सम्झौता भएर ०७२ श्रावणमा निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता भएको थियो । प्रकृति निर्माण प्रालिले ३ करोड ५० लाख लागतमा निर्माण गर्ने ठेक्का पाएको हो । तर निर्माण कम्पनीको लापरबाहीले आयोजना अलपत्र भएको छ । निर्माण कम्पनीले नक्साको डिजाइन अनुसार काम नगरेको र गुणस्तरहीन सामाग्रीको प्रयोग गरेको स्थानीयको भनाई छ ।
मापदण्ड विपरित निर्माण भएको भन्दै अख्तियारमा समेत उजुरी परेको थियो । तर जनप्रतिनिधि र अख्तियार स्रोतले समेत निर्माण गुणस्तरीय रहेको भन्दै अनुगमन र कारबाहीमा चासो नदिएको सरोकारवालाको गुनासो छ ।
मन्दिरको जिर्णोद्वार गर्ने नाममा झन धरापमा परेको छ । पुरानो संरचना भत्काएर इतिहास नै मेटाउन खोजेको सरोकारवाला बताउछन् ।
नेपाल अंग्रेज युद्धको समयमा गोरखाली फौजले वृटिश फौजलाई पराजित गरेपछि काजी अमर सिंह थापाले अमर नारायणको मन्दिर निर्माण गर्नुभएको हो । २ सय १२ बर्ष अगाडीको इतिहास रहेको सो क्षेत्रको संरक्षण गर्न स्थानीयले माग गरेका छन् ।