३० साउन, काठमाडौं । विगत पाँच दिनदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ।
मनसुन कमजोर भएकाले कम बदली र वर्षात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी नेपालमा मौसममा क्रमिक सुधार आउन थाले पनि पश्चिम नेपालमा भने जोखिम कायमै रहेको मौसमविदहरुले जनाएका छन्।
पूर्वी नेपालमा भारी वर्षा नहुने तर देशैभर मध्यमखालको वर्षा भने जारी रहने जल तथा मौसम विज्ञान बिभागले जनाएको छ । मौसम विद्का अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली अघिल्लो दिनको तुलनामा कमजोर हुँदै गएको छ । तर, पश्चिम नेपालमा भने कमजोर हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।
यसैबीच जल तथा मौसम विज्ञान बिभाग बाढी पूर्वानुमान शाखाले ठूलो वर्षा नभएपनि पानी पर्ने क्रम नरोकिने भएकाले जोखिम कायमै रहेको बताएको छ ।
वागमती, पूर्व राप्ती, रिउ, विनयी, अरुण खोला, तिनाउ खोला, वाणगंगा लगायतमा भोलि दिउँसोसम्मै अति नै जोखिम हुने देखिएकाले सावधान रहन शाखाले आग्रह गरेको छ ।
त्यस्तै पश्चिममा मध्यम वर्षाको सम्भावना रहेकाले पश्चिम राप्ती, बबई लगायतका नदी आसपासका क्षेत्रका बासिन्दालाई सोमबार बेलुकीसम्म सतर्क रहन सुझाव दिइएको छ ।




