नवराज कार्की
ओखलढुंगा, १३ बैशाख । ओखलढुंगाकै पर्यटकीय संभावना बोकेको देशकै दोस्रो अग्लो पोकली झरनाको पूर्वाधार विकास नहुँदा ओझेलमा परेको छ । विकासका लागि गुरुयोजना तयार पारेपनि सरकारले बजेट उपलब्ध नगराउादा विकास हुन नसकेको हो । गुरुयोजना अनुसार काम हुने हो भने जिल्लामा बाह्य तथा अन्तरिक पर्यटक भित्र्याउन सकिने सरोकारवालाको भनाई छ ।
८ वर्षअघि ओखलढुंगाको पोकली झरना पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्राविधिक टोलीले अध्ययन गरेको थियो । टोलीले गुरुयोजना तयार गरेर साढे २ करोडमा पोकली झरनाको विकास गर्ने योजना बनाएको थियो । झरनाको विकासका लागि २०६५ सालयता तीन पटक महोत्सवको आयोजना गरेपनि गुरुयोजना अनुसार काम भएको छैन ।
पोकली झरनाको पूर्वाधार विकासका लागि दूग्धेश्वर महादेव मन्दिरदेखि झरनासम्म पुग्ने सिँढी निर्माण, प्रतीक्षालय, भ्यु डेक, पिकनिक स्पोट, शौचालय, दूग्धेश्वर महादेव मन्दिर, बहुप्रतीक्षित पोकली खोला–बौद्ध–चुली–देम्बा डाँडा हुँदै सोलुखुम्बुको पीकेसम्म पुग्ने सडक र पदमार्ग लगायतका संरचना निर्माण गर्ने योजनामा छ । तर जिल्ला विकास समिति, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र पर्यटन बोर्डले बजेट नदिएपछि योजना अलपत्र परेको हो । भौगोलिक रुपमा टाढा भएकै कारण पोकली झरनाको पूर्वाधार विकास र पर्याप्त प्रचार प्रसार हुन नसकेको स्थानीयको भनाई छ ।
१ सय ३० मिटर उचाईबाट झर्ने पोकली झरना अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । गुरुयोजना अनुसार झरनाको विकास गर्ने हो भने ओखलढुंगामा समृद्धिको ढोका खुल्ने सरकारवाला बताउँछन् ।