काठमाडौँ, १२ बैशाख । यो वैशाख १२ गते हाम्रो मुलुकले आठ दशकयता भोगेको पहिलो ठूलो प्राकृतिक विपत्तिको तेस्रो वार्षिकी । यति बेला पत्रकार किशोर पन्थी विनाशकारी भूकम्पले हजारौँ घरपरिवार उजाडेको त्यो समयको अभिलेखसहित पाठकमाझ आएका छन् ।
‘कम्पन’ राजधानीमा सोमबार पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा.डा. खगेन्द्र लुइँटेल, माओवादी नेत्री पम्फा भुसाललगायतले लोकार्पण गरे। पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले नेपालीले भोगेको त्यो विपद्को पीडा भुल्ने गरी पुनर्निर्माण हुन नसकेको औँल्याउँदै सम्बन्धित निकायहरूलाई झकझकाउने दिशामा किशोरको लेखकीय प्रयास प्रशंसनीय रहेको बताए। पूर्वप्रधानमन्त्री नेपालले भूकम्पमा नेपालीहरूले अनुभव गर्नुपरेका पीडा मन छुने किसिमले आउन सकेको बताए। प्रा.डा. लुइँटेल र पत्रकार नेपालले किशोरको लेखन स्वादिलो रहेको टिप्पणी गरे।
‘कम्पन’ छ खण्डमा विभक्त छ। ‘वियोग वेदना,’ ‘मृत्युको मुखबाट,’ ‘रेस्क्यु अपरेसन,’ ‘आर्तहरूको उपचार,’ ‘राहतका रङहरू’ र ‘सञ्चारकर्मीको सकस’ खण्डमार्फत भूकम्पपीडितहरूका प्रोफाइल–बेस्ड कथा, उद्धार कार्य र उद्धारकर्मीका अनुभव लगायतलाई समेटिएको छ। उक्त पुस्तक महाभूकम्पपछिका आर्तनाद र आशाको उपज रहेको बताउँदै किशोरले यो भूकम्पलगत्तै अमेरिकाबाट आएर आफूले गरेको राहत प्रयासका क्रममा पाएका अनुभूतिको दस्तावेज पनि भएको सुनाए। ‘भूकम्पको केही दिनभित्रै म साथीहरूसहित न्युयोर्कबाट काठमाडौँ आइसकेको थिएँ,’ आठ वर्षयता अमेरिकामा रहेका उनले भने, ‘राहत सामग्री लिएर हामी छिमेकी जिल्लाहरूमा गयौँ। त्यस क्रममा जस्ता पीडित र अवस्थासँग साक्षात्कार गर्नुपर्यो, त्यसैको प्रतिफल हो यो पुस्तक।’ धेरै पीडितहरूको मनको घाउमा अझै मल्हम लाग्न नसकेको पाउँदा आफूलाई दुस्ख लागेको उल्लेख गर्दै उनले यो पुस्तक त्यस दिशामा आँखीझयाल बन्न सक्ने विश्वास पनि जनाए।
गुल्मीमा जन्मेका किशोरको यो पहिलो पुस्तकाकार कृति हो। डेढ दशकदेखि पत्रकारितामा आबद्ध उनी न्युयोर्कमै पनि यही पेसामा क्रियाशील छन्। त्यहाँ आफ्नै प्रधानसम्पादकत्वमा ‘खसोखास’ साप्ताहिक प्रकाशन गर्छन्। नमस्ते मिडिया इन्कले छापेको पुस्तक चाँडै अंग्रेजीमा निकाल्ने पनि उनले सुनाए। कान्तिपुरबाट