काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई जथाभावी नबोल्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले आफूले विकासको कुरा गर्दा केही बुद्धिजीविहरुले ‘महेन्द्रपथ’ भन्ने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।
सोमबार नयाँ शक्ति पार्टी, नेपालका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै उनले आफ्नो भारत भ्रमणलाई ‘लम्पसारवाद’ को संज्ञा दिएर काँग्रेस सभापति देउवाले लज्जास्पद टिप्पणी गरेको आरोप लगाए ।
उनले देउवाले जे पायो त्यहीँ टिप्पणी गर्ने गरेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री ओलीले मुलुकलाई नोक्सान पु¥याउने गरी लेख रचना तयार पार्ने काम नगर्न ‘बुद्धिजीवि’हरुलाई पनि सचेत गराए ।
केही ‘बुद्धिजीवि’हरुले मुसाले कोट काटे जसरी राष्ट्रलाई नोक्सान पु-याउने खालका काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ । उनले रारा ताललाई ‘महेन्द्र ताल’ भन्ने बुद्धिजीविहरुले देशलाई नोक्सान पर्ने भन्दै सचेत गराए ।
प्रधानमन्त्री ओलीले मुलुकमा एकता हुन नदिन विभिन्न षडयन्त्र भईरहेको बताए । उनले मुलुकमा सामाजिक सदभाव विथोल्ने गरी भएका सबै प्रयासहरुलाई सफल हुन नदिने दृढता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन लगानी जुटाउने काममा सरकार केन्द्रित भएको स्पष्ट पारे ।




