एजेन्सी, ९ बैशाख । आइपीएल क्रिकेटमा नेपाली खेलाडी सम्मिलित सन्दिप लामिछानेको टोली दिल्ली डेयरडेभिल्सले चौंथो पराजय व्यहोरेको छ । दिल्ली गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग ६ विकेटले पराजित भएको हो ।
रोयल च्यालेन्जर्सले दिल्लीले दिएको १ सय ७५ रनको लक्ष्य १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । रोयल च्यालेन्जर्सको जितमा ए बी डे भिल्लर्सले ३९ बलमा ९० रनको पारी खेले । यस्तै कप्तान विराट कोहलीले ३० रनको योगदान गरे ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले रिसभ पन्तको ८५ रनको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ७४ रन बनाएको थियो । नेपाली खेलाडी सन्दिप लामिछानेलाई भने अघिल्ला खेलमा जस्तै बेञ्चमा नै राखिएको थियो ।
पाँच खेलमध्ये एउटामा मात्र जित हात पारेको दिल्ली अन्तिम स्थानमा छ भने जितसँगै रोयल च्यालेन्जर्स पाँचौं स्थानमा उक्लिएको छ ।




