प्रहरीमा तक्माबापतको दुई अंक हटाउन प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

प्रहरीमा तक्माबापतको दुई अंक हटाउन प्रस्ताव

griha mantralaya

काठमाडौं, ८ बैशाख । प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको छ। कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीले तक्मा नपाउने तर भनसुन गर्नेले पाउन थालेपछि मानपदवीबापतको २ अंक हटाउन प्रस्ताव गरिएको हो। विद्यमान प्रहरी ऐनअनुसार कार्यक्षमता मूल्यांकन गर्दा पाउने १०० अंकमा विभूषण, मानपदवी, अलंकार तथा पदकबापत २ अंक पाउने व्यवस्था छ। यो अंक जुनसुकै तहका प्रहरी कर्मचारी बढुवा हुँदा पाउँछन्।

तक्माका लागि गृह मन्त्रालय वा गृह र प्रहरी प्रधान कार्यालय दुवै निकायबाट सिफारिस हुन्थ्यो। प्रहरी प्रधान कार्यालयले कारणवश सिफारिस नगरे पनि पहुँचवाला प्रहरी कर्मचारीले गृह मन्त्रालयबाट सोझै तक्मा लिने गरेका थिए। यसपटक पनि गृहका कर्मचारीमाथि सिफारिसका लागि दबाब पर्न थालेपछि मन्त्रालयबाट प्रदान गरिने तक्माको अंक काट्न प्रस्ताव गरिएको हो। संघीय प्रहरी ऐनमा बढुवाका लागि अंकभार तोक्ने विषयमा केही दिनअघि भएको छलफलमा यस्तो प्रस्ताव गरिएको मन्त्रालय स्रोतले जनायो।

नयाँ व्यवस्थाअनुसार कार्यसम्पादन मूल्यांकनबापत ४०, ज्येष्ठताबापत २०, भौगोलिक क्षेत्रमा काम गरेबापत ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण÷विशेष जिम्मेवारीबापत ७ र बढुवा समितिले दिने ७.५ अंक कायम गर्न प्रस्ताव गरिएको छ। यसअघि विशेष जिम्मेवारी वा चुनौतीपूर्ण काम गरेबापतको अंक ५ थियो। नयाँ ऐनमा यसलाई मानपदवीबापतको २ अंक थपेर ७ अंक प्रस्ताव गरिएको हो।

गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आइजिपी) सहित विशिष्ट श्रेणीका अधिकृत र कार्यालय प्रमुखलाई बलियो बनाउन चुनौतीपूर्ण कार्य गरेबापतको अंकभार बढाउन प्रस्ताव गरेको हो। चुनौतीपूर्ण काम गरेबापतको ७ अंक सीधै कार्यालय प्रमुखले दिन पाउनेछन्। ‘प्रहरी कर्मचारीहरू चेन अफ कमान्डमा भन्दा पनि बढी राजनीतिक दलका नेताकार्यकर्ताकहाँ धाउने प्रवृत्ति बढ्न थाल्यो, जसले गर्दा गृह मन्त्रालयले दिने तक्माकै दुरुपयोग भयो। त्यसैले यसलाई ऐनबाट हटाएर सम्बन्धित कार्यालय प्रमुखले दिने व्यवस्था गर्न लागिएको हो,’ मन्त्रालय स्रोतले भन्यो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।